spot_img

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

spot_img
spot_img

काठमाडौं,१६ असार । स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेकोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच सहमति भएको छ।

काठमाडौंमा भएको भेटवार्ताका क्रममा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा मुख्यमन्त्री यादवले स्थानीय तहका समस्या समाधानका लागि मधेश प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी विभिन्न पालिकामा स्थलगत सहजीकरण र समन्वय गरेको जानकारी दिइन्। उनका अनुसार टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको छ।

उनले स्थानीय सरकारलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमुखी बनाउन मन्त्रालयले आवश्यक पहललाई निरन्तरता दिने स्पष्ट पार्दै त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

भेटवार्तामा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय