काठमाडौँ,१६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका संवैधानिक निकायहरूको स्वतन्त्रता कमजोर बन्दै गएको भन्दै वर्तमान राज्य सञ्चालन संविधानको मर्मअनुसार हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायहरूले आफ्नो स्वतन्त्र भूमिका गुमाउँदै गएको दाबी गरे। उनले अहिले देश वास्तवमा कसको नियन्त्रणमा सञ्चालन भइरहेको छ भन्ने प्रश्नसमेत उठाए।
नेता सिटौलाले पछिल्लो समय नेपालमा प्रतिशोधको राजनीति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र, समाज र मुलुकको समग्र विकासमा नकारात्मक असर पार्ने बताए।
विश्व राजनीतिको प्रभाव नेपालमा पनि देखिएको उल्लेख गर्दै उनले त्यसका नकारात्मक असरहरू बढ्दै गएको धारणा राखे। साथै, राजनीतिक दलहरूबीच मात्रै होइन, दलभित्रै पनि अविश्वास गहिरिँदै गएकाले राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन कठिन भइरहेको उनको भनाइ थियो।
संविधान संशोधनको प्रसङ्गमा सिटौलाले संविधान कुनै अपरिवर्तनीय धार्मिक ग्रन्थ नभएको उल्लेख गर्दै समयानुकूल संशोधन आवश्यक हुने बताए। तर संशोधन गर्दा संविधानका मौलिक मूल्य, मान्यता र आधारभूत संरचनालाई सुरक्षित राख्दै कार्यान्वयनका क्रममा देखिएका कमजोरी मात्र सच्याउनुपर्नेमा उनले जोड दिए।




