बीरगन्ज,१६ असार । बीरगन्ज महानगरपालिका–२३ स्थित ब्रह्मबाबा मन्दिर जाने सडकको ढलान निर्माण कार्य मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ।
मुख्य सडकदेखि पश्चिमतर्फ ब्रह्मबाबा मन्दिरसम्मको १७६ मिटर लम्बाइ र १२ फिट चौडाइ रहेको सडकको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा (एमाले) मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले गरेका हुन्।
पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुन लागेको उक्त सडक एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। शिलान्यास कार्यक्रममा यादवले सडक निर्माण सम्पन्न भएपछि मन्दिरमा दर्शनका लागि आउने भक्तजन र आसपासका एक दर्जनभन्दा बढी परिवारलाई प्रत्यक्ष लाभ पुग्ने बताए।
स्थानीयका अनुसार वर्षौंदेखि वर्षायाममा हिलो र आवतजावतमा हुने कठिनाइका कारण समस्या झेल्दै आएका बासिन्दालाई सडक ढलानपछि सहज हुने अपेक्षा गरिएको छ।
निर्माण कार्य सुरु भएकोमा स्थानीयले खुसी व्यक्त गर्दै तोकिएको समयमै गुणस्तरीय रूपमा काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।




