वीरगन्ज,१६ असार । पर्साको जिराभवानी गाउँपालिका–४ स्थित ऐलानी जग्गामा सार्वजनिक जग्गाको संरक्षण, हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण गरिएको छ।
डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत उक्त ऐलानी जग्गामा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै तिनको संरक्षणका लागि तारबारसमेत गरेको जनाएको छ।
वृक्षरोपण कार्यक्रममा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वन तथा वातावरण संरक्षण वर्तमान समयको प्रमुख आवश्यकता भएको बताए। उनले वृक्षरोपणले जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी दाहालले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै वातावरण संरक्षणसम्बन्धी यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद जयप्रकाश थारु, पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, वडा नं. ४ का वडाध्यक्ष राजेश्वर दास थारुलगायत जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।




