काठमाडौं,१६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवन–दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिका मूल्यमा आधारित रहेको बताएका छन्। उनले यी आदर्शलाई व्यवहारमा उतार्दै विश्व शान्ति, मानव कल्याण र समृद्धिका लागि सबैले साझा रूपमा योगदान दिनुपर्नेमा जोड दिएका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँद्वारा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले समाजलाई सही दिशामा अघि बढाउने उल्लेख गरे।
उनले सेवा र मानवताको भावनालाई जीवनको सर्वोच्च धर्मका रूपमा व्याख्या गर्दै निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो कर्तव्य भएको बताए।
राष्ट्रपति पौडेलले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य तथा मानव कल्याणका क्षेत्रमा रोटरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै बदलिँदो विश्व परिवेशमा यस्ता संस्थाको योगदान अझ महत्वपूर्ण बन्दै गएको बताए।
उनले समाजसेवा, मित्रता, सद्भाव र विश्वमानवताका मूल्यलाई आत्मसात् गर्दै समाज रूपान्तरणमा सक्रिय रहन रोटरीजस्ता संस्थाले खेलेको भूमिका प्रेरणादायी रहेको उल्लेख गरे। राष्ट्रपति पौडेलले यस्ता सेवामूलक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।




