काठमाडौं,१६ असार । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण तथा कानुनी पक्षको समग्र अध्ययनका लागि विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पठाउन निर्देशन दिएको हो।
यो बन्दीप्रत्यक्षीकरण रिट विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेकी हुन्। सर्वोच्चले रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले निष्पक्ष न्यायिक निरूपणका लागि सक्कल मिसिल आवश्यक रहेको ठहर गरेको छ।
आदेशअनुसार विशेष अदालतबाट मिसिल सर्वोच्चमा प्राप्त भएपछि सम्बन्धित कागजात, प्रमाण तथा अन्य विवरणको अध्ययन गरी रिट निवेदनमाथिको थप सुनुवाइ अघि बढाइने अदालतले जनाएको छ।
हाल सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा विचाराधीन छ। उक्त मिसिल सर्वोच्चमा पुगेपछि बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइले थप गति लिने अपेक्षा गरिएको छ।




