spot_img

वर्षायामसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र व्यावसायिक सफारी सेवा बन्द

spot_img
spot_img

चितवन,१७ असार । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र सञ्चालन हुँदै आएको व्यावसायिक जीप सफारी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा भलबाढी आउने, रुख ढलेर वनमार्ग अवरुद्ध हुने तथा कच्ची सडक बिग्रिने जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षा र सहजतालाई ध्यानमा राखेर सफारी सेवा बन्द गरिएको हो।

उनका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि पनि महत्त्वपूर्ण समय भएकाले यस अवधिमा मानव गतिविधि कम गर्नु संरक्षणका दृष्टिले आवश्यक मानिन्छ।

चितवन राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष मनसुनको समयमा यस्तै निर्णय गर्दै आएको छ। मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपासबाट निकुञ्जभित्रको सफारी सेवा पुनः सञ्चालन गरिने परम्परा रहेको छ।

यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने यथावत् रहने निकुञ्जले जनाएको छ।

सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न क्षेत्रबाट दैनिक रूपमा पर्यटक बोकेका जीपहरू निकुञ्ज प्रवेश गर्दै आएका थिए। चितवन पुग्ने अधिकांश आन्तरिक तथा विदेशी पर्यटकले जीप सफारीमार्फत वन, वन्यजन्तु र प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय