काठमाडौं,१७ असार । सरकारले धानबालीको मुख्य सिजनलाई लक्षित गर्दै आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल–भारत सरकारबीचको (जीटुजी) सम्झौताअन्तर्गत ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ।
यस्तै, अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरमार्फत थप १ लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिकटन डिएपी र १ लाख २० हजार मेट्रिकटन युरिया मल रहेको मन्त्रालयले जनाएको छ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्ति प्रभावित भए पनि नेपालमा किसानलाई अभाव हुन नदिन सरकारले आवश्यक तयारी गरेको मन्त्रालयको भनाइ छ। यस वर्ष हालसम्मकै बढी परिमाणमा रासायनिक मल आयात गर्ने लक्ष्य राखिएको पनि मन्त्रालयले जनाएको छ।
मल वितरणका क्रममा कालोबजारी, कृत्रिम अभाव वा अन्य अनियमितता भएको पाइएमा किसानले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ मा सम्पर्क गर्न वा मन्त्रालयले उपलब्ध गराएको क्यूआर कोड मार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।




