काठमाडौं,१७ असार । देशका विभिन्न भागमा भइरहेको निरन्तर वर्षासँगै काठमाडौं उपत्यकासहित २६ जिल्लामा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको प्रक्षेपणअनुसार साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र केही स्थानमा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुमा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी किनार, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न, मौसम र बाढीसम्बन्धी सूचनाको नियमित जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




