जनकपुर,१७ असार । मधेस प्रदेशसभाको बैठक आज बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि विस्तृत छलफल सुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल प्रारम्भ गर्ने कार्यक्रम रहेको छ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
आजदेखि सुरु हुने छलफलमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत बजेट, कार्यक्रम तथा योजनाबारे आफ्ना धारणा राख्नेछन्। छलफलपछि उठेका प्रश्न र सुझावको जवाफ सरकारले दिने तथा आवश्यक प्रक्रियापछि विनियोजन विधेयक पारित गर्ने कार्यतालिका रहेको छ।




