वीरगन्ज,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै वीरगन्जमा इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आएपछि पर्सा प्रशासनले पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो। मूल्य घटेको भोलिपल्ट नै वीरगन्जका अधिकांश निजी पेट्रोल पम्पहरूले ‘पेट्रोल र डिजेल सकिएको’ सूचना टाँसेर बिक्री बन्द गरेपछि उपभोक्ताले कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका थिए।
उक्त गुनासोपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रहरी टोलीसहित बुधबार दिउँसो विभिन्न पेट्रोल पम्पमा अनुगमनका लागि पुगेका थिए।
अनुगमनका क्रममा वीरगन्जका १२ वटा पेट्रोल पम्पमध्ये मनोज आयल र दुर्गा आयल स्टोर्स मात्रै पेट्रोल र डिजेल बिक्री गरिरहेको भेटिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।
बाँकी १० वटा पम्प सञ्चालकहरूले भने नेपाल आयल निगमको डिपोबाट मागअनुसार इन्धन समयमै उपलब्ध नभएको र मौज्दात सकिएकाले बिक्री बन्द गर्नुपरेको स्पष्टीकरण दिएका थिए।
प्रमुख जिल्ला अधिकारी दाहालले पम्प सञ्चालकहरूलाई भविष्यमा मौज्दात व्यवस्थापन प्रभावकारी बनाउन र उपभोक्ताले सास्ती भोग्ने अवस्था सिर्जना हुन नदिन निर्देशन दिइएको बताए। उनले आयल निगमबाट नियमित आपूर्ति भइरहेका बेला कृत्रिम अभाव देखाएर सेवा अवरुद्ध नगर्न पनि प्रशासनले स्पष्ट चेतावनी दिएको जानकारी दिए।




