काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
चितवनमा असार ९ देखि १२ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिसहित १०० जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पार्टीको विधानअनुसार रास्वपामा १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा १०० जना निर्वाचनबाट चयन हुने र बाँकी ५१ जना सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ।
यसका अतिरिक्त सातै प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहने व्यवस्था पनि विधानमा उल्लेख छ। महाधिवेशनबाट खुलातर्फ ३२, समावेशीतर्फ ३२ तथा सात प्रदेशबाट पाँच–पाँच जना गरी केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
बुधबार आयोजित कार्यक्रममा निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
रास्वपाको विधानअनुसार पार्टीमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। हालसम्म केही पदमा मात्र निर्वाचन सम्पन्न भएको छ भने वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसहितका बाँकी पदाधिकारी सभापतिबाट मनोनयन हुन बाँकी रहेका छन्।




