जनकपुर,१७ असार । झुम्का कारागारबाट फरार रहेका एक कैदीबन्दी चोरीको आशंकामा रहेको कारसहित सप्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती निवासी २४ वर्षीय चन्द्रबहादुर पाख्रिन (विक्रम) रहेका छन्।
सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित एक होटल अगाडि पार्किङ गरिएको बा.८च ९४३० नम्बरको कारसहित उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका पाख्रिनसँग सवारीसाधनको कागजात र चालक अनुमतिपत्र मागिएको थियो। तर उनले आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि यातायात कार्यालयबाट गाडीको विवरण जाँच गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर नमिलेको पाइएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त सवारी चोरीको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पाख्रिनविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धान सम्पन्न भएपछि बाँकी कैद सजाय भुक्तानका लागि उनलाई पुनः झुम्का कारागार पठाइने तयारी गरिएको छ।
पाख्रिन लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए। सप्तरी प्रहरीका अनुसार उनको अझै १७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।




