spot_img

मधेसका निलम्बित सांसद शर्मासहितको मुद्दामा आज उच्च अदालतमा सुनुवाइ

spot_img
spot_img

जनकपुर,१७ असार । मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्मासहित अन्य प्रतिवादी संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दामा आज उच्च अदालत जनकपुरमा सुनुवाइ हुँदैछ।

बुधबार न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दाको ५०औँ पेशी तोकिएको हो। यसअघि असार १० गते ४९औँ पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो।

यसअघि न्यायाधीशद्वय कैलाशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि निलम्बित सांसद शर्माका कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित गरिएको थियो।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको घटनासम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य अभिराम शर्मा, प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही (राम शंकर शाही) र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो।

जिल्ला अदालतको उक्त फैसला विरुद्ध विभिन्न पक्षले उच्च अदालतमा पुनरावेदन दायर गरेका हुन्। अढाई वर्षको अवधिमा यो मुद्दामा ५० पटक पेशी तोकिए पनि अधिकांश सुनुवाइ स्थगित हुँदै आएको छ।

अदालतको अभिलेखअनुसार शर्मासम्बन्धी मुद्दामा २८ वटा पेशी स्थगित भएका छन्, ११ वटा पेशीमा आदेश भएको छ भने ६ वटा पेशी ‘हेर्न नभ्याइने’मा परेको छ। दुई पटक ‘हेर्दाहेर्दै’मा परे पनि दुई पटक बकपत्र समेत सम्पन्न भएको अदालत स्रोतले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय