spot_img

मूल्य घटेपछि बजारमा पेट्रोल–डिजेलको कृत्रिम अभाव, पम्प बन्द गर्नेविरुद्ध निगमको अनुगमन सुरु

spot_img
spot_img

बीरगन्ज,१७ असार । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलको कृत्रिम अभाव देखिएको छ। धेरै निजी पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्दै बिक्री वितरण बन्द गरेका छन् भने सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा इन्धन भर्न सवारीसाधनको लामो लाइन लागेको छ।

काठमाडौं उपत्यकामा नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको भीड लागेको छ। बानेश्वरलगायतका केही निजी पम्पले भने पेट्रोल अभावको सूचना टाँसेर सेवा बन्द गरेका छन्। यस्तै अवस्था उपत्यकाबाहिरका विभिन्न जिल्लामा पनि देखिएको छ।

नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दै पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। तर मूल्य समायोजन भएको केही घण्टामै बजारमा इन्धन अभावको अवस्था देखिन थालेको हो।

यद्यपि नेपाल आयल निगमले बजारमा वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार केही व्यवसायीले अतिरिक्त नाफा कमाउने उद्देश्यले मूल्य घट्ने जानकारी पाएपछि इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।

उनले निगमसँग पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताए। केही पम्पको भण्डारण क्षमता सीमित भएकाले सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा इन्धनको पर्याप्त उपलब्धता रहेको उनको भनाइ छ।

प्रवक्ता ठाकुरले सहज रूपमा इन्धन उपलब्ध हुँदाहुँदै पनि बिक्री बन्द गर्ने वा मूल्य घट्ने जानकारी पाएपछि जानाजानी इन्धन नउठाउने पेट्रोल पम्पमाथि कडा अनुगमन सुरु गरिएको जानकारी दिए। यस्ता पम्पलाई सिल गर्नेसम्मको कारबाही गरिने चेतावनी दिँदै निगमले उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय