spot_img

भारतीय प्रभावले नेपाली बजारमा चामल महँगियो

spot_img
spot_img

काठमाडौं,१७ असार । भारतीय बजारमा धान तथा चामलको मूल्यवृद्धि, निर्यात नीतिमा आएको परिवर्तन र उत्पादनमा आएको कमीका कारण नेपाली बजारमा पनि चामलको मूल्य उल्लेख्य रूपमा बढेको छ। उद्योगी तथा व्यवसायीका अनुसार पछिल्ला दुई महिनामै २५ किलो चामलको एक बोराको मूल्य ३ सयदेखि ४ सय रुपैयाँसम्म महँगिएको छ।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका सदस्य विभोर अग्रवालका अनुसार नेपालमा आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले भारतबाट हुने आयातमै निर्भर रहनुपरेको छ। भारतले बंगलादेशतर्फ चामल निर्यातको कोटा खुला गर्नु, धान उत्पादनमा आएको कमी तथा न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाउनुजस्ता कारणले भारतीय बजारमै मूल्य बढेको र त्यसको प्रत्यक्ष असर नेपालमा परेको उनले बताए।

उनका अनुसार दुई महिनाअघि प्रतिक्विन्टल २ हजार ६ सय रुपैयाँ रहेको जिरा मसिनो धान अहिले ३ हजार २ सय रुपैयाँ पुगेको छ। त्यसैगरी २५ किलो जिरा मसिनो चामलको मूल्य १८–१९ सय रुपैयाँबाट बढेर २३–२४ सय रुपैयाँ पुगेको छ।

सोना मन्सुली, बासमती र १४४२ जातका चामलको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। अहिले अधिकांश चामलको मूल्य प्रतिबोरा ३ सय ५० देखि ४ सय रुपैयाँसम्मले वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

नयाँ बानेश्वरस्थित खाद्य मार्टका सञ्चालक मनोज दंगालका अनुसार चामल मात्र होइन, अन्य खाद्यान्नको मूल्य पनि निरन्तर बढिरहेको छ। उनका अनुसार सामान्य चामलको मूल्य नै प्रतिकिलो करिब १ सय रुपैयाँ पुगेको छ, जसले उपभोक्ताको दैनिक खर्च बढाएको छ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि भारतीय बजारमा धानको मूल्य बढेकाले त्यसको असर नेपालमा परेको बताए। उनका अनुसार नेपाल भारतीय बजारको मूल्यमा निर्भर रहेकाले यस्तो मूल्यवृद्धि रोक्न कठिन छ।

भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि धानसहित विभिन्न कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य बढाएको छ। साथै, बंगलादेशले खाद्य भण्डारण बढाउन भारतबाट ठूलो परिमाणमा चामल आयात गर्न कोटा खुला गरेपछि भारतीय बजारमा माग बढेको छ। मनसुनमा ढिलाइ, उत्पादन लागतमा वृद्धि र अन्तर्राष्ट्रिय बजारमा उच्च मागका कारण पनि मूल्य चर्किएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

उद्योगी तथा व्यवसायीका अनुसार भारतमा मूल्य घट्ने संकेत नदेखिएकाले नेपालमा पनि दशैंसम्म चामलको मूल्य अझै प्रतिबोरा १ सयदेखि २ सय रुपैयाँसम्म बढ्न सक्ने अनुमान गरिएको छ। बजारमा बढ्दो महँगीले सर्वसाधारणको भान्सा थप महँगो बन्दै गएको छ भने व्यापार व्यवसायसमेत सुस्ताएको व्यवसायीहरूको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय