spot_img

दूषित खाना बेच्ने होटल–रेष्टुरेन्टमाथि कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

spot_img
spot_img

वीरगन्ज,१७ असार । गृहमन्त्री सुधन गुरुङले दूषित, अस्वच्छ तथा गुणस्तरहीन खाना बिक्री गर्ने होटल तथा रेस्टुरेन्टमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन प्रभावकारी बनाउन परिपत्र जारी गरेको हो।

गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटामार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई पठाइएको परिपत्रमा बजार अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन स्पष्ट निर्देशन दिइएको छ।

मन्त्रालयले खाद्य गुणस्तरका मापदण्ड उल्लङ्घन गर्ने, अस्वच्छ वातावरणमा खाद्य सामग्री उत्पादन वा बिक्री गर्ने तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

परिपत्रमा देशका विभिन्न स्थानका होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएको उल्लेख गरिएको छ। यस्ता गुनासोप्रति मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै नियमित र प्रभावकारी अनुगमन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा उजुरी दर्ता गर्न सक्ने हटलाइन वा द्रुत सेवा डेस्क तत्काल सञ्चालनमा ल्याउन पनि मन्त्रालयले निर्देशन दिएको छ। प्राप्त गुनासोलाई उच्च प्राथमिकताका साथ छिटो सम्बोधन गर्न र आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ।

मन्त्रालयले स्थानीय प्रशासनलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले सामान्य प्रकृतिका गुनासो समाधानका लागि नागरिकले केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।

यस निर्देशनसँगै जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी होटल तथा रेस्टुरेन्टको नियमित अनुगमन, खाद्य गुणस्तर परीक्षण र कानुनी कारबाहीलाई थप कडाइ गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय