काठमाडौं,१७ असार । पेट्रोलियम पदार्थको मूल्य घटाइएपछि सार्वजनिक सवारीसाधनको भाडादर पनि समायोजन हुने भएको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको नयाँ भाडादर निर्धारण गर्ने तयारी गरेको जनाएको छ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी मंगलबार राति पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएपछि विभागले नयाँ इन्धन मूल्यका आधारमा भाडादर पुनःनिर्धारण गर्न लागेको हो।
विभागका निर्देशक मणिराम भुसालका अनुसार नयाँ भाडादरको गणना अन्तिम चरणमा पुगेको छ र आज साँझसम्म संशोधित भाडादर सार्वजनिक गर्ने तयारी भइरहेको छ।
यता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि इन्धनको मूल्य घटेसँगै भाडादर तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडा इन्धनको मूल्यसँगै सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, चालक–सहचालकको पारिश्रमिक, स्पेयर पार्ट्स, बैंकिङ लागत लगायतका आधारमा वैज्ञानिक ढंगले निर्धारण हुनुपर्ने बताएका छन्।
उनले इन्धनको मूल्य बढ्दा तत्काल भाडा बढाइने तर घट्दा समयमै समायोजन नगर्ने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैमा अन्योल सिर्जना गरेको उल्लेख गरे।
हाल सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा संरचनामा ३५ प्रतिशत भार इन्धनको मूल्यलाई र बाँकी ६५ प्रतिशत सञ्चालन तथा व्यवस्थापन खर्चलाई आधार मानिएको छ। त्यसैले इन्धनको मूल्य घटेअनुसार सोही अनुपातमा भाडादर समायोजन गरिनुपर्ने व्यवसायीहरूको धारणा छ।
उपभोक्ता पक्षले भने इन्धनको मूल्य बढ्दा जति अनुपातमा भाडा बढाइएको थियो, घट्दा पनि त्यही अनुपातमा भाडा घटाइनुपर्ने माग गरेका छन्। उपभोक्ताकर्मी माधव तिमल्सिनाले ‘वैज्ञानिक भाडादर’ को नाममा न्यून मात्रामा भाडा घटाएर उपभोक्तामाथि अन्याय गर्न नहुने बताए।
अन्तरप्रदेश भाडादर सार्वजनिक भएपछि सम्बन्धित प्रदेश सरकारले पनि स्थानीय तथा प्रदेशस्तरीय सार्वजनिक सवारीको भाडादर सोहीअनुसार समायोजन गर्ने तयारी गरेका छन्।




