काठमाडौं,१७ असार । काठमाडौं उपत्यका र काभ्रेका विभिन्न कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण तीव्र रूपमा फैलिरहे पनि जनशक्तिको अभावका कारण संक्रमित कुखुरा नष्ट गर्ने तथा प्रभावित फार्म निसंक्रमण गर्ने कार्य प्रभावित भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लु पुष्टि भए पनि तत्काल द्रुत प्रतिक्रिया टोली (र्यापिड रेस्पोन्स टिम) परिचालन गर्न नसकिएको पशु सेवा विभागले जनाएको छ। यद्यपि, काभ्रेको पनौती नगरपालिकाका प्रभावित फार्ममा मंगलबार तीनवटा छुट्टाछुट्टै पशु चिकित्सक टोली परिचालन गरी कुखुरा नष्ट गर्ने काम अघि बढाइएको छ।
एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रमका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार उपत्यका र काभ्रेका ५८ स्थानबाट बर्डफ्लु प्रकोप पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ। धेरै स्थानबाट संक्रमण पुष्टि भइरहे पनि पर्याप्त जनशक्ति नहुँदा तत्काल प्रतिक्रिया दिन कठिन भइरहेको उनले बताए।
एभियन इन्फ्लुएन्जा अत्यधिक संक्रामक भाइरस भएकाले संक्रमण फैलिन नदिन प्रभावित फार्ममा तत्काल संक्रमित कुखुरा नष्ट गर्ने र निसंक्रमण गर्ने कार्य आवश्यक हुन्छ। तर, कुखुरा नष्ट गर्ने काममा आवश्यक श्रमिक नपाइनु अहिलेको मुख्य चुनौती बनेको विभागको भनाइ छ।
अधिकारीहरूका अनुसार सरकारले यस कार्यमा खटिने जनशक्तिलाई दैनिक १,२०० रुपैयाँ मात्र भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ। उक्त रकम अन्य रोजगारीको तुलनामा कम भएकाले कामदार आकर्षित हुन नसकेको र त्यसकै कारण बर्डफ्लु नियन्त्रण अभियान प्रभावित भइरहेको विभागले जनाएको छ।




