spot_img

भुक्तानी रोकिएको भन्दै निर्माण व्यवसायीले धनुषाका सरकारी कार्यालयमा लगाए तालाबन्दी

spot_img
spot_img

धनुषा,१७ असार । सम्पन्न भइसकेका तथा अन्तिम चरणमा रहेका विकास आयोजनाको भुक्तानी रोकिएको विरोधमा निर्माण व्यवसायी सङ्घ धनुषाले बुधबार विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेको छ। आन्दोलनमा उत्रिएका व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय र कोष तथा लेखा नियन्त्रक (कोलेनिका) कार्यालयमा तालाबन्दी गर्दै तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन माग गरेका छन्।

निर्माण व्यवसायी सङ्घ धनुषाका पूर्वमहासचिव विनोद कर्णले आर्थिक वर्षको अन्तिम समयमा पनि सम्पन्न योजनाको भुक्तानी नहुँदा निर्माण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको बताए। उनका अनुसार सडक, भवन, सिँचाइ तथा अन्य पूर्वाधार आयोजनाको काम सम्पन्न भएर आवश्यक कागजी प्रक्रिया पूरा भइसके पनि सरकारले भुक्तानी रोकेको छ।

उनले बैंक ग्यारेन्टी नवीकरण, मजदुरको पारिश्रमिक, निर्माण सामग्री आपूर्तिकर्ताको भुक्तानी तथा बैंक ऋण तिर्नुपर्ने दबाबका बीच सरकारी भुक्तानी रोकिँदा व्यवसायी थप समस्यामा परेको बताए।

उता, पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी र उपभोक्ता समितिले तालाबन्दी गरेपछि कार्यालयको नियमित कामकाज प्रभावित भएको जानकारी दिए।

उनका अनुसार गैरआवासीय भवन निर्माण शीर्षकअन्तर्गत पूर्वस्वीकृति नलिइएकाले कोष तथा लेखा नियन्त्रक कार्यालयले सो शीर्षकको भुक्तानी रोक्न पत्राचार गरेको हो। अर्थ मन्त्रालयबाट आवश्यक स्वीकृति (बाधा अड्काउ फुकाउ) प्राप्त भएपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउन सकिने भएकाले हालका लागि रकम निकासा रोकिएको उनले स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय