spot_img

साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल

spot_img
spot_img

काठमाडौं,१७ असार । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालनअघि गरिएका सुरक्षा, उद्धार तथा सञ्चालनसम्बन्धी सवारीसाधन र उपकरणको परीक्षण सफल भएको छ।

परियोजनाअन्तर्गत सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन परीक्षण सम्पन्न गरिएको हो। साथै, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी र ट्राफिक व्यवस्थापनलगायत सुरक्षा प्रणालीको अन्तिम परीक्षण पनि जारी रहेको छ।

नागढुंगा सुरुङमार्गको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। करिब २२ अर्ब रुपैयाँ लागतको यो परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। मुख्य निर्माणको जिम्मेवारी जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको छ।

मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ भने आपत्कालीन उद्धारका लागि छुट्टै सुरुङ पनि निर्माण गरिएको छ। यससँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाको निर्माणसमेत सम्पन्न भएको छ।

२०७६ सालमा सुरु भएको परियोजना कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा प्राविधिक चुनौतीका कारण केही ढिलो भए पनि अहिले निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा तोकिएका मापदण्डअनुसार मात्र सवारीसाधनलाई प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, सवारीबीचको दूरी, लेन अनुशासन तथा अन्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनेछ भने सम्पूर्ण सञ्चालन र निगरानी अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिनेछ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश तथा बाहिरिने यात्रु र मालवाहक सवारीको आवागमन सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। साथै, नागढुंगा सडकखण्डमा हुने ट्राफिक जाम घट्नुका साथै यात्राको समय, इन्धन खपत र सवारी सञ्चालन लागतसमेत कम हुने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय