काठमाडौं,१७ असार । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न नयाँ कार्यविधि लागू गरेको छ। चिकित्सा क्षेत्रमा बढ्दै गएको विकृति, गैरस्वास्थ्यकर्मीको अवैध उपचार तथा नक्कली चिकित्सकको गतिविधि नियन्त्रण गर्ने उद्देश्यले काउन्सिलले ‘अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि–२०८३’ जारी गरेको हो।
काउन्सिलको बोर्ड बैठकबाट स्वीकृत कार्यविधिअनुसार अब सम्बन्धित स्वास्थ्य परिषद्मा दर्ता नभएका वा आवश्यक योग्यता नपुगेका व्यक्तिले आफ्नो नामअघि ‘डाक्टर’ लेखेर आधुनिक चिकित्सा अभ्यास गर्न वा बिरामीको उपचार गर्न पाउने छैनन्।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार नयाँ कार्यविधिले चिकित्सा क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उनले आचारसंहिता उल्लङ्घन गर्ने चिकित्सक र अवैध रूपमा उपचारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यविधिले अवैध चिकित्सकीय अभ्यासलाई स्पष्ट रूपमा परिभाषित गर्दै सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता नभई उपचार गर्ने, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर स्वास्थ्य सेवा दिने तथा अनुमति नलिई ‘डाक्टर’, ‘डिग्री’ वा ‘लाइसेन्स’ जस्ता उपाधि प्रयोग गर्ने कार्यलाई गैरकानुनी मानेको छ।
यस्तै, आधुनिक चिकित्साको नाममा अवैज्ञानिक वा अप्रमाणित उपचार गर्ने, अनधिकृत रूपमा शल्यक्रिया गर्ने, भ्रामक स्वास्थ्य विज्ञापन प्रकाशित गर्ने तथा नक्कली मेडिकल प्रमाणपत्र वा प्रेस्क्रिप्सन जारी गर्ने गतिविधिलाई पनि कडा कारबाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार नयाँ कार्यविधिले बिरामीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुका साथै चिकित्सा पेशाप्रति जनविश्वास कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




