काठमाडौं,१७ असार । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि–८ का रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ का सरिब गिरी रहेका छन्।
प्रहरीका अनुसार वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ, ललितबहादुर तामाङले कोसोभो पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ, सन्तोषी लामाले स्पेन पठाउने बहानामा १५ लाख रुपैयाँ, रामदास महर्जनले यूएईमा रोजगारी लगाइदिने भन्दै सात जनाबाट ४५ लाख रुपैयाँ तथा सरिब गिरीले क्यानडा पठाइदिने प्रलोभनमा एक जनाबाट २० लाख रुपैयाँ ठगी गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।




