spot_img

कर्णाली डेभलपमेन्ट बैंक बचाउन नयाँ संस्थापक भित्र्याउने राष्ट्र बैंकको तयारी

spot_img
spot_img

काठमाडाैं,१७ असार । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंकले नयाँ रणनीति अघि सारेको छ। निक्षेपकर्तालाई सेयरधनी बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएपछि अब नयाँ संस्थापक सेयरधनी भित्र्याएर आवश्यक पूँजी जुटाउने तयारी थालिएको हो।

यसअघि निक्षेपकर्तालाई सेयर प्रदान गरी बैंक पुनः सञ्चालन गर्ने योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृति नपाउँदा रोकिएको थियो। राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाका अनुसार बोर्डको नेतृत्वमा स्थायित्व नहुँदा प्रक्रिया लम्बिएको हो। यही कारण बैंक पुनर्जीवनको प्रक्रिया नरोकिने गरी नयाँ संस्थापक ल्याउने विकल्पमा पनि काम अघि बढाइएको उनले बताए।

खतिवडाका अनुसार राष्ट्र बैंकभित्र कर्णाली डेभलपमेन्ट बैंकमा नयाँ संस्थापक सेयरधनी भित्र्याएर पूँजी वृद्धि गर्ने विषयमा उच्चस्तरीय छलफल भइरहेको छ। यसका लागि हालका संस्थापकलाई हकप्रद सेयर जारी गर्ने र नयाँ लगानीकर्ता भित्र्याउने योजना बनाइएको छ। यस प्रक्रियाबाट करिब ४ अर्ब रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ।

राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पनि समस्याग्रस्त वित्तीय संस्था पुनः सञ्चालन गर्न धितोपत्रसम्बन्धी कानुनी प्रक्रियाले ढिलाइ गराएको बताएका छन्। उनले यस्ता संवेदनशील विषयमा केन्द्रीय बैंकलाई थप अधिकार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदनअनुसार कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनबाट करिब १ अर्ब २७ करोड रुपैयाँ बराबरको नगद अपचलन भएको देखिएको छ। प्रतिवेदनले बैंकको खुद सम्पत्ति (नेटवर्थ) २ अर्ब ४६ करोड रुपैयाँ ऋणात्मक रहेको उल्लेख गरेको छ।

हाल बैंकको चुक्ता पूँजी २९ करोड रुपैयाँ मात्र रहेको छ। बैंकमा करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप रहेको भए पनि सम्पत्ति र कर्जाको अवस्था कमजोर भएकाले बैंक विघटन गर्दा पनि सबै निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउने अवस्था नरहेको राष्ट्र बैंकको निष्कर्ष छ।

यही कारण बैंकलाई विघटन गर्नुको सट्टा पुनः सञ्चालनमा ल्याएर निक्षेपकर्ताको हित संरक्षण गर्ने विकल्पमा राष्ट्र बैंक अघि बढेको हो। यद्यपि नयाँ संस्थापक सेयरधनी भित्र्याउने विषयमा राष्ट्र बैंक सञ्चालक समितिले भने अन्तिम निर्णय गरिसकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय