बीरगन्ज,१७ असार । बीरगन्जमा साइकलमा आँप बेच्ने बहानामा लागूऔषध ब्राउन सुगर बिक्री गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया थाना अन्तर्गत गोपालपुर ग्राम पञ्चायत–२ घोघाका ३० वर्षीय गुड्डु आलम रहेका छन्।
उनी हाल बीरगन्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–९ स्थित सडकपेटीमा साइकलमा आँप बेच्ने व्यक्तिले ब्राउन सुगरसमेत बिक्री गरिरहेको गोप्य सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले आलमको साइकल खानतलासी गर्ने क्रममा पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो र सेतो प्लास्टिकमा लुकाएर राखिएको २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।




