जनकपुर,१७ असार । मधेस प्रदेशसभाको बुधबार बसेको सातौँ अधिवेशनको १३औँ बैठक प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेको छ। आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जसपाका सांसदहरूले बैठक सुरु हुनासाथ विरोध जनाएका हुन्।
जसपाका सांसद उपेन्द्र महतोले सरकारले ल्याएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संशोधन नगरेसम्म प्रदेशसभा सञ्चालन हुन नदिने चेतावनी दिए। सरकारले एक करोड रुपैयाँभन्दा कम लागतका योजना नल्याउने नीति घोषणा गरे पनि बजेटमा १० लाख, २० लाख र ३५ लाख रुपैयाँका योजनासमेत समावेश गरिएको भन्दै उनले आपत्ति जनाए।
उनले एउटै योजनाभित्र विभिन्न साना योजनाहरू समेटिएको, जिल्लास्थित कार्यालयलाई जिम्मेवारी नदिई अधिकांश योजना मन्त्रालयमै केन्द्रित गरिएको आरोप लगाए। यस्तो अभ्यासले बजेट कार्यान्वयन कमजोर हुने र संघीयताको मर्मसमेत विपरीत जाने उनको भनाइ थियो।
महतोले वर्तमान बजेटलाई “मन्त्रालयमुखी, सत्तामुखी र सत्तापक्षका सांसदमुखी” भएको टिप्पणी गर्दै बजेट संशोधन नभएसम्म सदनको अवरोध जारी रहने स्पष्ट पारे।




