spot_img

दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शत्रुघ्न साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

spot_img
spot_img

काठमाडौं,१७ असार । सर्वोच्च अदालतले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको छ।

न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै साहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। यससँगै विशेष अदालतले यसअघि गरेको कैद तथा जरिवानासम्बन्धी फैसला पनि यथावत् रहने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल वैशाखमा साह र उनकी पत्नी सुशीला कुमारी साहविरुद्ध करिब २ करोड ३८ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०७५ साल पुसमा साहले ६८ लाख २४ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोही बराबर जरिवाना र ९ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्च अदालतले करिब साढे सात वर्षपछि विशेष अदालतको उक्त फैसला सदर गरेको हो।

अख्तियारको अनुसन्धानअनुसार साहले दुग्ध विकास संस्थानमा टेक्निकल अफिसरदेखि प्रबन्ध निर्देशकसम्म विभिन्न जिम्मेवारीमा कार्यरत रहँदा करिब १ करोड ४४ लाख रुपैयाँ वैध आम्दानी गरेका थिए। तर सो अवधिमा ३ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिएको देखिएपछि वैध आम्दानीभन्दा अस्वाभाविक रूपमा सम्पत्ति बढाएको निष्कर्षसहित उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय