spot_img

स्वास्थ्य कार्यालयको अनुगमनले देखायो– अधिकांश बालबालिका नियमित खोपबाट सुरक्षित

spot_img
spot_img

बीरगन्ज,१७ असार । पर्सामा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप समयमै पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले पोखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिकामा घरदैलो छड्के अनुगमन गरेको छ।

नियमित खोप कार्यक्रमको प्रभावकारिता, अभिलेख व्यवस्थापन तथा समुदायमा खोपप्रतिको सचेतनाको अवस्था मूल्यांकन गर्ने उद्देश्यले गरिएको अनुगमनमा अधिकांश बालबालिकाले निर्धारित समयमै आवश्यक सबै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार दुवै पालिकामा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको देखिएको छ। अभिभावकहरूमा बालबालिकाको स्वास्थ्यप्रति चासो र खोपप्रतिको सचेतना पनि बढेको पाइएको उनले बताए। अनुगमनका क्रममा देखिएका केही सामान्य व्यवस्थापकीय कमजोरी सुधारका लागि सम्बन्धित निकायलाई आवश्यक सुझावसमेत दिइएको उनले जानकारी दिए।

अनुगमन टोलीले खोप केन्द्रको निरीक्षणसँगै घरदैलोमै पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरेको थियो। टोलीले खोपको महत्व, छुटेका बालबालिकाको पहिचान, समयमै खोप केन्द्रमा लैजानुपर्ने आवश्यकता तथा नियमित खोपलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी दिएको थियो।

स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत शबनम कार्कीले अधिकांश बालबालिकाले नियमित खोप पूरा गरिसके पनि केही परिवारमा खोप कार्ड हराएको वा सुरक्षित रूपमा नराखिएको अवस्था भेटिएको बताइन्। खोप कार्ड बालबालिकाको स्वास्थ्य अभिलेखको महत्वपूर्ण दस्तावेज भएकाले सुरक्षित राख्न र हराएको अवस्थामा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी अभिलेख अद्यावधिक गर्न उनले अभिभावकलाई आग्रह गरिन्।

कार्कीले घरदैलो अनुगमनले छुटेका बालबालिकाको पहिचान, खोप सेवाको गुणस्तर सुधार तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, जनस्वास्थ्य अधिकृत शबनम कार्की, पूजा चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य राहुल गुप्तालगायतको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय