spot_img

पहिलोपटक सुत्केरी बिदा लिने मेयर विवादमा, जापानमा लैङ्गिक विभेदमाथि बहस

spot_img
spot_img

काठमाडाैं,१७ असार । जापानकी एक नगर प्रमुख (मेयर)ले पहिलो सन्तान जन्माउन सुत्केरी बिदा लिने घोषणा गरेपछि त्यसको विरोध भएको छ। घटनाले जापानमा महिलामाथि हुने लैङ्गिक विभेद र मातृत्वप्रतिको सामाजिक दृष्टिकोणबारे पुनः राष्ट्रिय बहस सुरु भएको छ।

पश्चिमी जापानको करिब ६८ हजार जनसंख्या रहेको यावाताका सहरकी ३५ वर्षीया मेयर शोको कावाताले मे महिनामा पहिलो सन्तान जन्माउन सुत्केरी बिदा लिने घोषणा गरेकी थिइन्। उनी जापानको इतिहासमै सुत्केरी बिदा लिने पहिलो मेयर बन्ने भएकी छन्।

तर उनको निर्णयपछि सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म आलोचना सुरु भएको छ। केहीले उनलाई जनप्रतिनिधिको जिम्मेवारीभन्दा व्यक्तिगत जीवनलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। विशेषगरी पुरुषहरूको समूहबाट बढी विरोध आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ।

हाल ६ महिनाकी गर्भवती कावाताले आफूले यस घटनामार्फत जापानी समाजमा अझै पनि गहिरो रूपमा रहेको लैङ्गिक विभेदलाई प्रत्यक्ष अनुभव गरेको बताएकी छन्।

उनको निर्णयले जापानमा कामकाजी महिलाले मातृत्वका कारण भोग्नुपर्ने चुनौतीबारे व्यापक बहस सुरु भएको छ। जापानमा मातृत्वका कारण महिलामाथि हुने कार्यस्थलको विभेदलाई ‘माताहारा’ (Matahara – Maternity Harassment) भन्ने छुट्टै शब्दले समेत चिनिन्छ।

धेरै महिलाहरूले मातृत्वका कारण आफ्नो करियरमा असर पर्ने डरले लामो सुत्केरी बिदा लिन समेत हिच्किचाउने अवस्था रहेको बताइन्छ।

यद्यपि जापानमा पछिल्लो समय महिलाको राजनीतिक सहभागिता बढ्दै गएको छ, उनीहरूको प्रतिनिधित्व अझै न्यून छ। गत वर्षको तथ्यांकअनुसार देशभरका करिब १,७४० स्थानीय तहका प्रमुखमध्ये ४ प्रतिशतभन्दा कम मात्रै महिला छन्।

यस्तै, जापानी संसदमा महिला सांसदको संख्या बढे पनि उनीहरूका लागि पूर्वाधार पर्याप्त छैन। संसद भवनको मुख्य बैठक हल नजिक महिलाका लागि दुई वटा मात्रै शौचालय कक्ष भएकाले करिब ६० जना महिला सांसदले थप शौचालय निर्माणको माग गर्दै निवेदनसमेत दिएका छन्। तर हालसम्म त्यसबारे कुनै ठोस निर्णय भएको छैन।

शोको कावाताको सुत्केरी बिदाको निर्णयले जापानमा महिला नेतृत्व, मातृत्वको सम्मान र कार्यस्थलमा लैङ्गिक समानतासम्बन्धी बहसलाई थप तीव्र बनाएको विश्लेषण गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय