बारा,१७ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीमा मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान सार्वजनिक चौतारास्थित बरको रुखमा बालबालिकाहरूलाई डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा टांगिया बस्तीकी ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई बुधबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइएको छ।




