काठमाडौं,१८ असार । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख–हैरानी दिएको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूले सार्वजनिक सवारीका यात्रुलाई जबर्जस्ती तान्ने, झोला खोस्ने, सवारीमा चढ्न दबाब दिने तथा अनावश्यक रूपमा हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोप छ।
प्रहरीले नियमित निगरानी र अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउका क्रममा केही व्यक्तिले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा यात्रुको सुरक्षा र सहज यात्राका लागि यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने पनि स्पष्ट पारेको छ।




