spot_img

भारतीय बजारको असरले नेपालमा चामल महँगियो

spot_img
spot_img

काठमाडौं,१८ असार । नेपाली बजारमा पछिल्लो दुई महिनायता चामलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। उद्योगी तथा व्यवसायीका अनुसार २५ किलोको एक बोरा चामलको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ भने आगामी दशैंसम्म मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

व्यवसायीहरूका अनुसार भारतमा धानको न्यूनतम समर्थन मूल्य (एमएसपी) वृद्धि, धान उत्पादनमा आएको कमी, बंगलादेशतर्फ बढेको निर्यात तथा मौसमी प्रभावका कारण भारतीय बजारमै चामल महँगिएको छ। नेपाल चामल आयातमा भारतमै निर्भर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनीहरूको भनाइ छ।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका पदाधिकारीहरूका अनुसार भारतमा धानको मूल्य बढेसँगै विभिन्न प्रकारका चामलको मूल्य पनि उकालो लागेको छ। जिरा मसिनो, सोना मन्सुली, बासमतीलगायत अधिकांश चामलको मूल्य उद्योगदेखि खुद्रा बजारसम्म बढेको छ।

खुद्रा व्यापारीहरूले पनि मिल र थोक बजारबाटै महँगो मूल्यमा चामल खरिद गर्नुपरेकाले उपभोक्तामाझ मूल्य बढाउन बाध्य भएको बताएका छन्। उनीहरूका अनुसार ढुवानी खर्चसमेत जोडिँदा बजारमा चामलको मूल्य अझै महँगो बनेको छ।

व्यापारीहरूका अनुसार अहिले सामान्य चामलको मूल्य पनि प्रतिकिलो करिब १०० रुपैयाँ पुगेको छ। चामलसँगै अन्य खाद्यान्नको मूल्यसमेत बढ्दा उपभोक्ताको दैनिक खर्चमा थप भार परेको उनीहरूको भनाइ छ। बजारमा व्यापार सुस्त हुँदै गएको र उपभोक्ताले अत्यावश्यक सामानबाहेक अन्य वस्तु खरिद घटाएको व्यवसायीहरू बताउँछन्।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले पनि भारतीय बजारमा धान र चामलको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालमा परेको जनाएको छ। संघका अनुसार स्वदेशी उत्पादनले माग धान्न नसक्ने भएकाले नेपाली बजार भारतीय मूल्यमा निर्भर रहनुपर्ने अवस्था छ।

उद्योगी तथा व्यवसायीहरूले भारतमा मूल्यवृद्धि जारी रहेकाले आगामी दशैंसम्म चामलको मूल्य प्रतिबोरा थप १०० देखि २०० रुपैयाँसम्म बढ्न सक्ने प्रक्षेपण गरेका छन्। उनीहरूले बजारमा देखिएको मूल्यवृद्धिबारे सरकारसँग छलफलको पहल गरे पनि हालसम्म ठोस प्रतिक्रिया नपाएको गुनासो गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय