spot_img

मधेसमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

spot_img
spot_img

वीरगन्ज,१८ असार । देशभर मनसुनी वायु सक्रिय रहेसँगै मधेस प्रदेशमा बिहीबार मेघगर्जन, चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा बदली रही विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। बिहीबार बिहान कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको छ।

मौसमविद्का अनुसार दिउँसो पनि मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। रातिको समयमा समेत प्रदेशका केही क्षेत्रमा यस्तै प्रकृतिको वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

विभागले चट्याङ, हावाहुरी तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी खुला स्थान, अग्ला रुख, विद्युतका पोल तथा नदी–नालाको आसपासमा अनावश्यक रूपमा नबस्न सुझाव दिइएको छ।

यद्यपि देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि वर्षा र केही उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि मधेस प्रदेशका तराई क्षेत्रमा मेघगर्जनसहित वर्षाको प्रभाव बढी रहने विभागले जनाएको छ।

मौसमविद्हरूले मनसुन पूर्ण रूपमा सक्रिय रहेकाले डुबानको जोखिम रहेका क्षेत्र, नदी–नाला आसपास तथा कमजोर संरचनामा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय