धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर भइरहेको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले तराईका बस्ती, सडक र खेतबारी जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ।
प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य सडक, गल्ली, नाला तथा होचा बस्तीमा पानी जमेको छ। डुबानका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ भने पैदल यात्रुलाई पनि आवतजावत गर्न समस्या परेको छ।
लगातारको वर्षासँगै नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछि बाढीको जोखिमसमेत बढेको छ। जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूले नदी किनार, होचा बस्ती तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
वर्षाका कारण विद्यालय जाने विद्यार्थीसमेत प्रभावित भएका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले बिहीबार विद्यालयमा सार्वजनिक बिदा दिएका छन्।
मौसम पूर्वानुमान विभागले अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। त्यसैले सम्भावित डुबान, बाढी र अन्य प्राकृतिक विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।




