सप्तरी,१८ असार । सप्तरीको राजगढ गाउँपालिका–स्थित जनता शङ्कर माध्यमिक विद्यालय, नर्घोका करिब ३०० विद्यार्थीलाई लागुऔषध दुर्व्यसनका जोखिम, कानुनी पक्ष र त्यसबाट बच्ने उपायबारे सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ।
राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिसन मधेश मिडिया प्रालिको आयोजनामा सम्पन्न कार्यक्रमको उद्देश्य विद्यार्थीमा लागुऔषधप्रति सही बुझाइ विकास गर्नुका साथै दुर्व्यसनबाट टाढा रहन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
प्रशिक्षणका सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीको दबाब वा क्षणिक रमाइलोका कारण धेरै किशोर–किशोरी लागुऔषधको प्रयोगतर्फ आकर्षित हुने र अन्ततः दुर्व्यसनको सिकार बन्ने भएकाले सुरुदेखि नै ‘नाइँ’ भन्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए।
उनले लागुऔषध सेवनले व्यक्तिको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था र भविष्यमा गम्भीर असर पार्ने भएकाले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरे।
त्यसैगरी, प्रहरी चौकी झुट्कीका प्रहरी नायब निरीक्षक विनोद खत्रीले लागुऔषधको ओसारपसार, बिक्रीवितरण तथा सेवनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी दिँदै लागुऔषध नियन्त्रण अभियानमा विद्यार्थीको सक्रिय भूमिका आवश्यक रहेको बताए।
प्रशिक्षणमा सहभागी कक्षा १० का विद्यार्थी चितनारायण मण्डल र मेनुका कुमारी यादवले कार्यक्रमबाट लागुऔषध सेवनका गम्भीर दुष्परिणामबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताए। उनीहरूले आफू मात्र होइन, आफ्ना साथीभाइलाई पनि लागुऔषधबाट टाढा रहन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयस्तरमा सञ्चालन हुने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, जिम्मेवार व्यवहार र सुरक्षित जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।




