बीरगन्ज,१८ असार । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले मधेश प्रदेशका नेता दीपकजंग ठाकुरलाई पार्टीबाट निलम्बन गरेको छ। पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ठाकुरले पार्टीको सिद्धान्त, नीति तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै तत्काल प्रभावबाट निलम्बन गरिएको बताएका छन्।
साम्पाङले अर्को सूचना जारी नभएसम्म ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन पार्टीका सदस्य र समर्थकलाई आग्रह गरेका छन्।
उता निलम्बनपछि ठाकुरले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङको निर्णयको सार्वजनिक रूपमा विरोध गरेका छन्। उनले पार्टी लोकतान्त्रिक विधि र निर्णय प्रक्रियाअनुसार नचलेको आरोप लगाउँदै मधेश प्रदेश समिति गठनमा भएको ढिलाइ र नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
ठाकुरले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को नीति कार्यान्वयन नभएको आरोपसमेत लगाएका छन्। यस घटनापछि श्रम संस्कृति पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको देखिएको छ।




