काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुनचाँदीका गहना अमेरिका पठाउने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्गोमार्फत पठाउन लागिएको एउटा बाकसमा कपडा रहेको उल्लेख गरिएको थियो। तर एक्स–रे परीक्षणका क्रममा शंका लागेपछि बाकस खोलेर जाँच गर्दा त्यसभित्र सुन तथा चाँदीका विभिन्न गहना फेला परेका हुन्।
प्रहरीले उक्त सामग्री नियन्त्रणमा लिएसँगै सुवेदी र दाहाललाई पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती गहना काठमाडौंबाट अमेरिका पठाउने तयारी गरिएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।




