काठमाडौं,१८ असार । आफ्ना मागहरूको सम्बोधन गराउन सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बिहीबार बीचबाटोमै रोकेको छ।
गत ११ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका दृष्टिविहीनहरूले सरकारमाथि दबाब बढाउन सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरेका थिए। तर, प्रहरी हस्तक्षेपपछि उनीहरूलाई अघि बढ्न नदिई फर्काइएको हो।
सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगार तथा सडकसंगीतजस्ता पेसामा संलग्न दृष्टिविहीनहरूले सरकारले आफ्नो रोजीरोटी खोस्ने गरी प्रतिबन्ध लगाएको आरोप लगाएका छन्। उनीहरूले सम्मानजनक व्यवस्थापन, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको सुनिश्चितता, त्यस्तो व्यवस्था नभएसम्म हाल गर्दै आएको स्वरोजगारलाई निर्बाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने तथा सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग राखेका छन्।
आन्दोलनरत दृष्टिविहीनका प्रतिनिधि साधन सुब्बाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। उनका अनुसार बुधबार उनीहरूले नेकपा (एमाले)को केन्द्रीय कार्यालयअगाडि पनि धर्ना दिएका थिए। एमालेले आफ्ना मागप्रति ऐक्यबद्धता जनाउँदै सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि धर्ना कार्यक्रम सहज रूपमा सञ्चालन गर्न नदिइएको उनको गुनासो छ।




