काठमाडौं,१८ असार । पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले पक्राउ गरेको छ।
कञ्चनपुर प्रहरीका अनुसार भण्डारीलाई निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा भएको अदालतको फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको हो।
कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिबाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशन गरेको आरोप लगाउँदै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।
प्रहरीले पक्राउ परेका भण्डारीलाई बिहीबार नै जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जनाएको छ।
उल्लेखनीय छ, २०७५ साउन १० गते साथीको घर गएकी निर्मला पन्तको शव भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो। बहुचर्चित उक्त घटनाको सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन।




