बुटवल,१८ असार । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले निर्वाचन आयोग, नेपाली कांग्रेसलगायत विपक्षी पक्षसँग लिखित जवाफ माग गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
सर्वोच्चले ढकाललाई पदमुक्त गर्नुपर्ने कानुनी आधार र कारण स्पष्ट पारेर लिखित जवाफ पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
अदालतको अन्तरिम आदेशसँगै ढकाल हालका लागि बुटवल–३ का वडाध्यक्षकै रूपमा काम गर्न पाउने भएका छन्।
नेपाली कांग्रेसले ढकालले दल त्याग गरी अर्को दलमा आबद्ध भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो। त्यसपछि आयोगले उनको पद रिक्त भएको निर्णय गरेको थियो।
ढकाल यसअघि तत्कालीन नेकपा (माओवादी)सँग आबद्ध रहे पनि स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिह्नबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।




