काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले अघि बढाएको मुलुकी अपराध संहिता (संशोधन) विधेयकको मस्यौदाप्रति कडा आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधन गर्न ल्याएको प्रस्ताव संविधानको भावना विपरीत रहेको बताए।
उनले नेपालको संविधानले नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र स्वतन्त्र रूपमा आफ्नो धारणा राख्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै प्रस्तावित संशोधनले ती मौलिक हकमाथि अंकुश लगाउने खतरा रहेको दाबी गरे।
शाहीले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि कानुनी व्यवस्था स्वीकार्य नहुने धारणा पनि व्यक्त गरे।




