जनकपुरधाम,१८ असार । बजेट संशोधनको माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका थिए।
जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका नाममा साना तथा टुक्रे योजनाले भरिएको बजेट ल्याएर संघीय शासन व्यवस्थाप्रति नै वितृष्णा फैलाउने प्रयास गरेको आरोप लगाए। उनले बजेट संशोधन नभएसम्म विपक्षी दलहरूले सदन सञ्चालन हुन नदिने स्पष्ट पारे।
त्यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेटमा आवश्यक संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै त्यसअघि सदन चल्न नदिने अडान दोहोर्याए। विपक्षी दलको अवरोध कायमै रहेपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन्।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक विपक्षीको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन नसकेपछि बिहीबार पनि विवाद कायम रहँदा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।




