spot_img

तस्करी नियन्त्रण र भन्सार सुधारको माग गर्दै रवि लामिछानेसँग वीरगन्जका उद्योगीको भेट

spot_img
spot_img

वीरगन्ज,१८ असार । वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि तस्करी नियन्त्रण, भन्सार दर पुनरावलोकन र उद्योगमैत्री नीतिको माग गरेका छन्।

बुधबार काठमाडौंस्थित लामिछानेको निवासमा भएको भेटघाट बुद्धिप्रसाद (हरि) पन्तको समन्वयमा भएको थियो। छलफलमा सीमामा बढ्दो तस्करी, उधारो कारोबारसम्बन्धी कानुन, भन्सार दरको असन्तुलन, प्रतिबन्धित वस्तुको आयात तथा औद्योगिक पूर्वाधारका विषयमा विस्तृत कुराकानी भएको थियो।

उद्योगी–व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा मौलाएको तस्करीका कारण स्वदेशी उद्योग र वैधानिक आयात व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै करिब एक सय वस्तुको भन्सार दर पुनरावलोकन गरी भारतको जीएसटी दरसँग सन्तुलन कायम गर्नुपर्ने माग राखेका थिए। उनीहरूको भनाइमा अत्यधिक भन्सार दरकै कारण अवैध आयात बढिरहेको छ।

छलफलका क्रममा सांसद पन्तले उधारो कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानुन छिट्टै ल्याउनुपर्ने तथा सीमावर्ती क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको बताए।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले पूजा सुपारी, छोकडा र कालो मरिचजस्ता प्रतिबन्धित वस्तुको आयात खुला गर्नुपर्ने मागसमेत उठाइएको जानकारी दिए। यस्ता वस्तुमा प्रतिबन्ध कायम रहँदा तस्करी बढ्ने र राज्यले राजस्व गुमाउने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

उद्योगीहरूले जितपुरसिमरा विशेष आर्थिक क्षेत्र (सेज)को डी र ई ब्लकलाई प्रभावकारी औद्योगिक क्षेत्रका रूपमा विकास गर्न, वीरगन्ज ड्राइपोर्टको स्तरोन्नति गर्न, ४५० किलोग्राम क्षमताका एलपीजी ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध गराउन तथा वीरगञ्ज महानगरको मुख्य सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्न पनि आग्रह गरेका थिए।

जवाफमा सभापति लामिछानेले निजी क्षेत्रका समस्या समाधानप्रति आफू र आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै उद्योग तथा व्यवसायको विकासबिनाको आर्थिक समृद्धि सम्भव नरहेको उल्लेख गरे। उनले तस्करी नियन्त्रण, राजस्व प्रणाली सुधार तथा उद्योगमैत्री वातावरण निर्माणका विषयमा सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटघाटमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, पूर्व अध्यक्ष गोपाल केडिया, वीरगन्जका पूर्व मेयर विजयकुमार सरावगी, उद्योगी मनोज दासलगायतको सहभागिता रहेको थियो। उद्योगीहरूले निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच नियमित संवाद र नीतिगत स्पष्टता भए मात्र अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन सकिने धारणा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय