spot_img

राष्ट्रपति पौडेलले राजीनामा दिनु उचित हुन्छ : प्रभु साह

spot_img
spot_img

बीरगन्ज,१८ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह ले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता र संविधानको प्रभावकारी रूपमा संरक्षण गर्न नसकेको आरोप लगाउँदै पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन्।

बिहीबार आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेलले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको र वर्तमान सरकारको ‘रबरस्ट्याम्प’का रूपमा काम गरेको आरोप लगाए।

उनले पछिल्ला विभिन्न राजनीतिक निर्णय र संवैधानिक विषयमा राष्ट्रपतिले आफ्नो संवैधानिक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गरे। जेनजी आन्दोलन, सरकार गठन, अध्यादेश जारी तथा संसद्सम्बन्धी निर्णयहरूमा राष्ट्रपतिले संविधानको मर्मअनुसार भूमिका खेल्न नसकेको उनको आरोप थियो।

साहले हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रति पनि असन्तुष्टि जनाउँदै उक्त कानुनले राष्ट्रिय हितमा असर पार्ने दाबी गरे। उनका अनुसार यसले विदेशी नागरिकलाई समेत सम्बन्धित संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने बाटो खुला गर्ने सम्भावना रहेको छ।

त्यसैगरी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएको विषयमा पनि उनले प्रश्न उठाउँदै सरकारले गरेका निर्णयमा राष्ट्रपतिले आवश्यक संवैधानिक समीक्षा नगरेको आरोप लगाए।

दरबार हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णय उल्लेख गर्दै साहले तत्कालीन घटनाक्रमसँग जोडिएका नैतिक पक्षका आधारमा पनि राष्ट्रपति पौडेलले पदबाट अलग हुनु उचित हुने धारणा व्यक्त गरे।

साहले संसद्को अधिवेशन, अध्यादेश र अन्य संवैधानिक प्रक्रियामा राष्ट्रपतिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै राष्ट्रपति पदबाट राजीनामा दिए देश र जनताको हितमा हुने दाबी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय