spot_img

पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

spot_img
spot_img

जनकपुर,१९ असार । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले सुनाएको कैद सजाय कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार साँझ करिब ६ बजे प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२, निगौल निवासी कोइरीलाई पक्राउ गरेको हो।

यो मुद्दा २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्यासँग सम्बन्धित हो। उक्त घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते दिएको फैसला उच्च अदालत जनकपुरले उल्ट्याउँदै २०८३ असार १७ गते कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएका कोइरीलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय