बारा,१९ असार । स्रोत खुलाउन नसकिएको करिब ३९ लाख ४२ हजार रुपैयाँ नगदसहित बाराका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कालीमाटी बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब २:४५ बजे जम्बुडाँडास्थित पहेँलो पुल क्षेत्रमा झोला बोकेर शङ्कास्पद रूपमा हिँडिरहेका कलवारलाई प्रहरीले रोकी खानतलासी गरेको थियो। जाँचका क्रममा उनको साथबाट स्रोत पुष्टि हुन नसकेको नेपाली नगद ३९ लाख ४१ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकमसहित पक्राउ परेका कलवारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।




