spot_img

पेट्रोल पम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना

spot_img
spot_img

काठमाडौं,१९ असार । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गर्ने व्यवसायीमाथि कडा कारबाहीको व्यवस्था गर्न लागेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान ल्याउन लागेको हो।

हालै पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाउँदा देशका विभिन्न स्थानमा इन्धन आपूर्तिमा समस्या देखिएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले कानुनी व्यवस्था कडा बनाउन निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनपछि बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले विनियमावलीको दफा २९(घ)(१०) मा ‘बिक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थप्ने निर्णय गरेको छ।

प्रस्तावित व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक उल्लंघन गरे १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म निगमबाट इन्धन उपलब्ध गराइने छैन।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विनियमावली संशोधनको उद्देश्य उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर सर्वसाधारणलाई सास्ती हुने अवस्था रोक्नु हो। उनका अनुसार नयाँ व्यवस्था लागू भएपछि कारणबिना पम्प बन्द गर्ने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी आधार तयार हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय