काठमाडौं,१९ असार । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। साथै पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसअघि बिहीबार काठमाडौं उपत्यकामा भएको वर्षाले विभिन्न स्थानमा डुबान हुँदा जनजीवन प्रभावित भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा पहाडी भूभागका धेरै स्थानमा वर्षा भएको छ। सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९८ मिलिमिटर मापन गरिएको छ। अहिले पनि कर्णालीका केही जिल्लामा हल्का वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्दै गएको विभागले जनाएको छ।




