spot_img

बारापछि पर्सा पनि बर्डफ्लुको उच्च जोखिममा, संक्रमित पन्छी बिक्री गरे कडा कारबाही हुने

spot_img
spot_img

वीरगञ्ज, १९ असार — बारा जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि छिमेकी पर्सा जिल्लालाई पनि उच्च जोखिममा राख्दै विशेष सतर्कता अपनाइएको छ। पशु सेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ।

विभागले संक्रमित पन्छी वा पन्छीजन्य उत्पादन बजारमा बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु पुष्टि भएका पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए।

उनका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विभागले उच्च सतर्कता अपनाएको जनाएको छ।

संक्रमणको थप फैलावट रोक्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म प्रभावित ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ।

डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि हुनेबित्तिकै संक्रमित पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

विभागले प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन तथा मुचुल्का संकलन गर्ने कार्य भइरहेको जनाएको छ। सोही आधारमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलनको कामसमेत अघि बढाइएको विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय