बीरगन्ज,१९ असार । उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छता सुनिश्चित गर्ने उद्देश्यले बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालित होटल, रेष्टुरेन्ट, क्यान्टिन तथा मिठाई पसलहरूमा संयुक्त अनुगमन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जको नेतृत्वमा निजगढ, कलैया र प्रसौनी क्षेत्रमा सञ्चालित खाद्य व्यवसायहरूको आकस्मिक निरीक्षण गरिएको हो। अनुगमनका क्रममा खाद्य पदार्थको गुणस्तर, सरसफाइ, भण्डारण व्यवस्था तथा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएको विषयमा निरीक्षण गरिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सुरेश कुमार सिंहले व्यवसायीहरूलाई भान्सा तथा खाद्य उत्पादन क्षेत्र सधैँ सफा राख्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ र कीराफट्याङ्ग्राबाट सुरक्षित राख्न तथा प्रतिबन्धित रङको प्रयोग नगर्न निर्देशन दिनुभयो। साथै, खाने तेलको गुणस्तरमा विशेष ध्यान दिन, पुनःपुनः प्रयोग गरिएको तेल प्रयोग नगर्न र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री वितरण नगर्न पनि उहाँले सचेत गराउनुभयो।
अनुगमनका क्रममा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएका एक फर्मलाई प्रचलित कानुनअनुसार १० हजार रुपैयाँ जरिवाना गरिएको छ। अन्य व्यवसायीलाई पनि मापदण्डको पूर्ण पालना गर्न चेतावनी दिइएको कार्यालयले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट गर्दै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, उपभोक्तालाई पनि खाद्य वस्तु खरिद गर्दा गुणस्तर, म्याद र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।




